नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय आज सकिँदै

काठमाडौं । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिँदैछ।

सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

यसअन्तर्गत प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। गत बैशाख ३१ गते संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो। तर वैशाख २७ गते विश्वासको मत लिन नसकेका ओली संसदको अंक गणितमा कुनै फेरबदल नआएपछि अर्को सरकार गठन थाल्न मार्ग प्रशस्त गरेका हुन्। तर राजीनामा नै नदिइ संविधान विपरित नयाँ सरकार गठनको आह्वान भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

आह्वान बमोजिम सरकार गठन हुन नसकेमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मुलुकमा मध्यावधि निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?