‘बाँचिदैन कि क्या हो जस्तो लागेको थियो तर बाँचे’

  • ओपेन्द्र बस्नेत

तुलसीपुर । ‘बाँच्दिनँ क्या हो भन्ने लागेको थियो मेयरसाव बाँचे’ खितिक्क हाँस्दै तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ निवासी महवीर वलीले भने । तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालित कोरोना अस्पतालमा उपचारपछि निको भएर घर फर्किन लागेका ३७ वर्षका वलीले नगर प्रमुख घनश्याम पाण्डेसँग बिदाइ हुने क्रममा यस्तो भने । बिदाइका क्रममा नगर प्रमुख पाण्डेसँग कुरा गरिरहँदा वलीको आँखामा खुसीका आँसुहरू टिलपिल गरिरहेका थिए ।

‘राप्ती प्रादेशिक अस्पतालबाट आउँदा बाँच्छु भन्ने लागेको थिएन । त्यसमा पनि तपाइँलाई कोरोना लागेको छ । यहाँ उपचार हुँदैन कोरोना अस्पतालमा छिट्टै जानुस् भनेर डाक्टरले बारम्बार भन्थे,’ वलीले भने, ‘बेलझुण्डी कोरोना अस्पतालमा सोध्यो अक्सिजन पनि छैन बेड पनि छैन भन्छन् । त्यसपछि कहाँ जाने ? श्रीमती पनि रुन थालिन् । म पनि अब यत्ति रहेछ मरिने भयो भनेर आश मारेको थिएँ । तीन नम्बर वडा अध्यक्ष विजय विकले यहाँ ल्याएपछि बाँच्ने आशा पलाएको हो ।’

कोरोना लागेपछि छरछिमेक र आफन्त पनि नजिक नआउने, सहजै बिरामीले उपचार नपाउने र अस्पतालको गेटमा पुगेर ठाउँ छैन भन्दै फर्किनु पर्दा बिरामीको त्यति बेला नै आधा प्राण गए जस्तो हुने वलीले बताए । कोभिडबाहेकका अस्पतालमा अमानवीय व्यवहार गर्ने गरेको प्रत्यक्ष आफूले भोगेको बताउँदै वलीले बिरामीलाई मिठो बोलीबचन र ढाडस दिए पनि धेरै आत्मबल बढ्ने र स्वास्थ्यमा सुधार आउने उनले बताए । खोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि पीसीआर चेक गराउँदा वलीलाई वैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो । २७ गते कोरोना आइसोलेसनमा भर्ना भएका उनी बुधबार डिस्चार्ज भएका हुन् । नगर प्रमुख पाण्डेले स्वास्थ्य सामग्रीसहित उनलाई बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?