कञ्चनपुरमा बाढीले तरकारी बगाउँदा लाखौं रुपैयाँ क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का किसानले बगरमा लगाएको तरकारी बाली स्याली नदीमा आएको बाढीले बगाउँदा लाखौं रुपैयाँको क्षति भएको छ।

चुरे क्षेत्रमा भएको वर्षाका कारण शुक्रबार नदीमा बाढी आएर बगरमा लगाएको तरकारी बगेको हो। बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायतको झण्डै १० लाख रुपैयाँ बराबरको तरकारी बगेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

‘तराई क्षेत्रमा थोरै मात्र पानी परेकाले किसानले नदी आउने कल्पना समेत गरेका थिएनन्,’ उनले भने, ‘चुरे क्षेत्रमा निकै पानी परेको रहेछ। एकाएक नदीमा बाढी आयो। किसानले तरकारी टिप्न नपाउँदै बारीनै तहसनहस भयो। किसानले निक्कै घाटा व्यहोरेका छन्।’

स्याली नदीको बगर खेतीमा संलग्न ६० परिवारमध्ये १२ जना किसानको तरकारी बाली बगेको छ। ‘कोरोनाको संक्रमण उच्च रुपमा फैलिन थालेपछि गरिएको निषेधाज्ञाका कारण बजारमा लगेर तरकारी बेच्न नपाउँदा निकै चिन्तित थियौं,’ किसान बिलबहादुर चौधरीले भने, ‘जेठको पहिलो सातामै नदीमा बाढी आउँछ भन्ने कल्पनानै गरेका थिएनौं। बाढी आयो। सबै तरकारी बगाएर लग्यो। वर्षभरिको खर्च बगर खेतीबाट चल्थ्यो। त्यो सबै बाढीले बगायो। परिवारको खर्च कसरी जुटाउने भन्ने पिरलो छ।’

बगर खेतीबाट प्रत्येक किसानले एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका थिए। गत वर्ष पनि लकडाउनका बगर खेतीमा उत्पादित तरकारी बेच्न नपाउँदा किसानले घाटा व्यहोरेका थिए।

यस वर्ष पनि बेच्नका लागि तयार भएका तरकारी बगेपछि किसानहरु निराश भएका छन्। हेर्दा हेर्दै बाढीले तरकारी बगाएर लगेको सीता चौधरीले बताइन्।

‘बगर खेतीबाटै खर्च चल्थ्यो। त्यो सबै नदीको बाढीले लग्यो,’ उनले भनिन्, ‘नदीको बाढीको पानी घटे पनि पुरै तरकारीका बोटहरु बालुवाले पुरेको छ। बोटमा लागेको तरकारी बग्यो। निकै नोक्सानी भयो।’

हल्दुघाट सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष चेतराज चौधरीका अनुसार बगर खेतीमा संलग्न १२ जना किसानले १० विघामा लगाएको बगर खेती नष्ट भएको छ। यस क्षेत्रका किसानले स्याली र सनवोरा नदीको बगरमा खेती गर्दै आएका छन्। बगर खेतीमा झण्डै एक सय बढी परिवार संलग्न रहेका छन्।

एक दशक देखि यहाँका किसानले बगरमा तरकारी खेती गर्दै आएका छन । भारतीयहरुले नदीको बगर खेती गरेर लाखौं आम्दानी गरेको देखेपछि त्यसको सिको गर्दै यहाँका किसानले बगर खेती थालेका हुन्। स्थानीय किसान बगर खेतीमा संलग्न भएपछि भारतीयहरु विस्थापनमा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?