आधार शिविरबाटै सगरमाथा चुचुरोको अवलोकन, झण्डै डेढ सय आरोही शिखरमा

काठमाडाैं । पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।

आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’

बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहीले लगेको बाइनाकुलरबाट शिखरको अवलोकन गरेको श्रेष्ठले बताउनुभयो । प्रस्टसँग देखिने भएकोले आउँदा दिनमा पर्यटन विभागले यस्ता प्रविधिको प्रयोग गर्न सक्नेबारेमा विभागलाई जानकारी गराउने उहाँले बताउनुभयो । यसैबीच आज झण्डै डेढ सय आरोही सगरमाथाको शिखरमा पुगेका छन् ।

बिहान सबेरैबाट सुरु भएको आरोहणमा अहिलेसम्म झण्डै डेढ सय आरोही शिखरमा पुगेका पर्यटन विभागको सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘आज आरोहणका लागि दुई सयभन्दा धेरै आरोही जानुभएको छ । त्यसमध्ये डेढ सय जति शिखरमा पुगेको जानकारी प्राप्त भएको छ । कोही अझै जाँदै हुनुहुन्छ । कतिपयको जानकारी सङ्कलन गर्न बाँकी छ’ श्रेष्ठले भन्नुभयो ।

आज शिखरमा पुग्नका लागि कम्तीमा साढे दुई सय आरोहीहरु गएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको बसन्त ऋतुको आरोहण सुरु भएको हो ।

वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको हो । यो वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमति लिएका भन्दा उनीहरुका सहयोगी धेरै हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी छ । यसैबीच तीन जना भारतीय नागरिकसहित ७ जना आरोही ल्होत्से हिमालको शिखरमा पुगेका छन् ।

सात जनाले आठ हजार पाँच सय १६ मिटर अग्लो हिमाल आरोहण गरेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्गमा शेर्पाले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?