ट्याक्सी चालक, जसले बेड र आइसियू नपाएरै प्राण त्यागे

  • कृष्णसिंह धामी

रामेछाप । रामेछाप दोरम्बा गाउँपालिका–२ एक ट्याक्सी चालकको केही दिन अघि मृत्यु भयो। कोरोना संक्रमणबाट उनको मृत्यु भएको थियो। काठमाडौंमा अन्य कोरोना संक्रमितलाई अस्पताल लैजाने क्रममा उनी संक्रमित हुन पुगेका थिए।

संक्रमणपछि होम आइसोलेशनमा बसेका उनलाई श्वास–प्रश्वासमा देखियो। उनले अस्पतालमा बेडका लागि हारगुहार गरे। तर, आइसियू सहितको बेड उनले कतै पाएनन्। उनले आफ्नो फेसबुकमा एक पोष्ट हालेर बेड मिलाइदिन गुहार मागेका थिए।

उनी अक्सिजनसहित होम आइसोलेशनमा बसिरहेका थिए। आइसियू नपाएपछि नपाएपछि घरमै मृत्यु भयो। उनको मृत्यु भएको केही दिनअघि गाउँमै रहेको उनका दाजुको पनि मृत्यु भएको थियो। कोरोना संक्रमणबाट नभई अन्य कारणले उनका दाजुको मृत्यु भएको थियो।

दाजुको मृत्युको शोकमा रहेका उनको परिवारमा अर्को बज्रपात आइलाग्यो। यो घटनाले उनका परिवार, आफन्त मात्रै नभएर गाउँ नै शोकमग्न भयो

​थापाथली बस्ने सर्लाहीका ५० वर्षीय एक ट्याक्सी चालकले टेकु अस्पताल बाहिरै प्राण त्यागे। उनलाई पनि अन्य कोरोना संक्रमितलाई अस्पताल लैजान सरेको थियो।

उनले छातीमा एकदमै समस्या, श्वास फेर्न समेत गाह्रो भएपछि अस्पताल गएर परीक्षण गराएका थिए। रिपोर्ट पोजिटिभ आएपछि टेकु अस्पतालमा लगियो। उनलाई तत्कालै आइसियूको आवश्यकता थियो। तर, आइसियू त के सामान्य बेड समेत पाएनन् उनले। अन्य अस्पतालमा पनि आइसियूका लागि सम्पर्क गर्दा पनि पाइएन। टेकु अस्पतालको बाहिर राख्दा-राख्दै उनको मृत्यु भयो।

​ओदलढुंगाका एक अर्का ट्याक्सी चालकको पनि आइसियू खोज्दाखोज्दै मृत्यु भयो। कोरोना संक्रमितलाई अस्पताल पुर्याएपछि उनी समेत संक्रमित हुन पुगेका थिए। संक्रमणपछि गम्भीर समस्या देखिएपछि उनका लागि आइसियू खोजियो। तर, कतै नपाएपछि उनको प्राण गयो।

कोरोना संक्रमणबाट अहिलेसम्म आठ जना ट्याक्सी चालकले ज्यान गुमाइसकेका छन्। छिमेकी, आफन्त, साथी भाइलाई अस्पताल लैजाने ल्याउने क्रममा संक्रमित भएर उनीहरूले ज्यान गुमाएका हुन्।

केही चालकहरू अझै पनि आइसियू र आइसोलेसनमा छन्। पछिल्लो समय एम्बुलेन्सपछि ट्याक्सी चालकहरू आफ्नो ज्यानको माया मारेर संक्रमितको ओसारपसारमा लागेका छन्।

विना स्वास्थ्य सुरक्षा, ट्याक्सीमा कोरोना संक्रमितलाई बोक्ने गर्दा यसरी जोखिममा पर्ने गरेको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सचिव दिलिप श्रेष्ठ बताउँछन्।

‘ट्याक्सीले आकस्मिक सेवा दिनुपर्छ भनेर स्थानीय प्रशासनलाई समेत जानकारी गराएका थियौं। तर, सिडिओले वेवास्ता गरेपछि साथीहरू आफूखुसी सेवा दिन थाले। विशेषगरी छर छिमेकीलाई अस्पतालसम्म लैजाने, ल्याउने क्रममै यस्तो भइरहेको छ ’ श्रेष्ठले भने।

काठमाडौं उपत्यकामा एम्बुलेन्स जस्तै गरी ट्याक्सीले पनि आपत्कालिन अवस्थामा बिरामीलाई अस्पताल लैजाने–ल्याउने काम गर्दै आएका छन्। कोरोनाको दोस्रो लहर शुरु भएसँगै ट्याक्सी व्यवसायीहरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए।

बैशाख १४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निश्चित कोटा तोकेर सवारी पासको व्यवस्था गरिदिन भन्दै ज्ञापनपत्र बुझाइएको थियो। तर, स्थानीय प्रशासनले वेवास्ता गर्दा अहिले यो समस्या आएको उनको भनाइ छ।

‘विगतमा पनि जोखिम मोलेर चलाइरहेका थिए। अब हाम्रा साथीहरू एकदमै जोखिममा छन्’ श्रेष्ठ सुनाउँछन्, ‘उनीहरूलाई स्वास्थ्य मापदण्ड पालना गरेर चलाउन दिनुपर्छ भनेर ज्ञापन पत्र बुझाएका थियौं। तर, बेवास्ता भयो।’

एम्बुलेन्सपछि दोस्रो सेवा दिने सवारी नै ट्याक्सी भएकाले छरछिमेक, आफन्त, साथीभाई बिरामी पर्दा टुलुटुलु हेरे बस्न नसकिने उनी बताउँछन्। ‘पेटको सवालमा, आफ्ना नजिकका छिमेकीको ज्यान जोगाउन खोज्दा आफ्नै ज्यान धरापमा परिरहेको छ। घरमा ट्याक्सी छ। आफ्नै फ्ल्याटमा बस्ने अर्को मान्छे सिकिस्त छ भने टुलुटुलु हेरेर त बस्न सकिँदैन’ उनले भने।

महामारीको समयमा ट्याक्सी चालकहरूलाई घरमै सुरक्षित बस्न अनुरोध गर्दै आएको श्रेष्ठको भनाइ छ। ‘एम्बुलेन्स चालकसँग त पिपिई हुन्छ। अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको हुन्छ। हाम्रो त त्यस्तो हुँदैन। इमर्जेन्सीमा सहयोग गर्दा आफैं संक्रमित भएर ज्यान गुमाउनु परेको छ’ उनले भने।

एकातिर बिरामीको गम्भीर अवस्था त अर्कोतिर बैंकले किस्ता तिर्न तारन्तार गर्ने ताकेता। जसले ट्याक्सी चालकलाई जोखिम मोलेर भएपनि सडकमा उत्रिन बाध्य बनाइरहेको श्रेष्ठ बताउँछन्।

अहिले काठमाडौं उपत्यकाभित्र १२ हजार ३५० ट्याक्सी छन्। ती मध्ये ट्याक्सी मात्रै १० हजार ३५० सञ्चालनमा रहेको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ। जसमा २ हजार माइक्रो बसहरूलाई पनि ट्याक्सीकै नम्बर दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?