छुट्टीमा घर जान जहाज कुर्दाकुर्दै कतार मै अस्ताए निर प्रसाद

म्यादी । वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ ।

विदामा घर गई परिवार र बालबच्चासँग बसेर रोजगारीमा पुनः कतार फर्कने योजना बनाएका ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो ।

विगत ८ वर्षदेखि कतारमा कार्यरत उनी सुतिरहेकै अवस्थामा मृत भेटिएका थिए । उनी विदा भएर घर फर्किने जहाजको प्रतिक्षामा थिए ।

कतारको सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यु हृदयाघातका कारण भएको हो । उनको मृत्युको बारेमा कम्पनीका अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका छन् ।

दूतावास पुगी मृतकले पाउनुपर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाएपछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य शव पठाइने नेपाली नियोगका द्वितीय सचिव भुवन भट्टले मध्यान्हलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?