विद्या भण्डारीकी छोरी उषाकिरणलाई दिएको ५० लाख काण्डमा झुक्यो एमाले सरकार !

काठमाडौं । मदन भण्डारी फाउन्डेसनका नाममा राजनीतिक गतिविधि गर्दै आएकी अध्यक्ष तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई नेकपा एमाले नेतृत्वको बागमती प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँ फिर्ता भएको छ ।

एमाले नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारले भण्डारीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकोमा चर्काे विरोध भएपछि रकम फिर्ता गरिएको हो ।

प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आज सोमवार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको बताएका छन् ।

प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौं अधिवेशनको बैठक अवरुद्ध गरेपछि रकम फिर्ता लिने निर्णय गरिएको पौडेलले जानकारी दिए ।

सोमबारको बैठकमा पौडेलले भने, ‘मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भयो । यसर्थ फाउन्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’

प्रदेश सरकारले सबै प्रतिष्ठानलाई उपलब्ध गराउँदै आएको सहयोग रकम रोक्ने संकेत समेत उनले गरे । मुख्यमन्त्री पौडेलले आगामी वर्षका लागि बीपी स्मृति प्रतिष्ठान, जीपी स्मृति प्रतिष्ठान लगायतका थुप्रै प्रतिष्ठानले सहयोगको लागि निवेदन दिएकोमा प्रश्न खडा भएको बताएका छन् ।

‘बीपी र जीपी प्रतिष्ठानहरुले सहयोगका लागि निवेदन दिइसकेका छन् । अब भोलिका दिनमा के हुन्छ ? प्रश्न चिह्न खडा भएको छ,’ मुख्यमन्त्री पौडेलले बैठकमा भने ।

प्रदेश सरकारले विगतमा अग्रज राजनीतिज्ञको नाममा स्थापित प्रतिष्ठानलाई सहयोग गरेको बताउँदै मुख्यमन्त्री पौडेलले मदन भण्डारीको नामसँग जोडिएको विषय मात्रै उठेकोमा गुनासो गरेका छन् ।

‘विगतमा पोष्टबहादुर बोगटी स्मृति पार्क, तुलसीलाल स्मृति प्रतिष्ठान, सुवर्ण शमशेर प्रतिष्ठान, शहीद प्रतिष्ठान नेपाल भरतपुर, लोककल्याण सेवा प्रतिष्ठानहरुलाई सहयोग उपलब्ध गराइसकिएको छ तर मदन भण्डारीको नामसँग मात्रै किन विषय उठ्यो, भोलिका दिनमा समीक्षा होला नै,’ पौडेलले भने । मिडिया डबलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?