रहेनन् युवा गायक एवं संगीतकार जनम थुलुङ

काठमाडाैं । प्रतिभाशाली युवा गायक एवं संगीतकार जनम थुलुङको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उनको हिजो (बिहीबार) राति राजधानीस्थित एक अस्पस्तालमा उपचारका क्रममा निधन भएको हो।

करिब एक हप्ता अघि कोरोना पुष्टि भएका जनम विगत दुई दिनदेखि अस्पतालको सघन कक्ष (आई.सी.यु) उपचारत थिए।

३३ वर्षीय जनम विगत एक दशकदेखि निरन्तर संगीत सिर्जना, अध्ययन तथा अनुसन्धानमा क्रियाशील थिए। संगीतमा स्नातक गरेका जनमले दुई दर्जन बढी गीतहरुमा स्वर दिनुका साथै पाँच दर्जन बढी गीतहरुमा संगीत भरेका छन्।

वि.स. २०६३ सालदेखि संगीतको औपचारिक शिक्षा सुरु गरेका जनमले २०६८ सालमा आफ्नो स्वर र संगीतमा ‘मरे कटुन्जे’, ‘संजोगले भेट हुँदा आँशु खस्यो, हर्षले बाँचे फेरी भेटौला है’ लगायत चर्चित गीत सार्वजनिक गर्दै नेपाली सांगीतिक फाँटमा उदायका थिए।

जनमका चर्चित गीतहरुमा खुवालुङ खुल, खुल, खुल, मरे कटुन्जे, रोक्नी वो च्योमिम्, झापा कोङ्ङ्गा डुमु बासी, बकि बकि स्यो, हाम बोमु झाम गुई लगायतका रहेका छन्।

उनले २०७२ सालमा पहिलो नेपाली भाषाको एल्बम ‘दृश्य’ सार्वजनिक गरेका थिए। त्यस्तै, २०७० सालमा थुलुङ भाषाको आफ्नो पहिलो एल्बम ‘आलास्यो’ र दोस्रो ‘माम पाप’ सिर्जना गरेका थिए।

जनमलाई गीत संगीतको माध्यमबाट किराती संस्कृती र सभ्यताको संरक्षण र प्रबर्द्धन गर्ने एक सशक्त अभियन्ताका रुपमा चिनिन्थ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?