सरकारले ल्यायो पत्रकार बन्‍न जाँच दिनुपर्ने व्यवस्था

काठमाडौं । सरकारले पत्रकार बन्न जाँच लिने व्यवस्था गर्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने जानकारी दिएका छन् ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बताएका हुन् ।

सरकारको यो कदमलाई मन्त्री गुरुङले ऐतिहासिक दाबी गर्दै ‘गेमचेन्जर’ हुने टिप्पणीसमेत गरे । पत्रकारिता पेसालाई दक्ष बनाउने सरकारले यस्तो बन्दोबस्त गर्न लागेको गुरुङले दाबी गरेका छन् ।

राज्यका विभिन्न निकायमा काम गर्न लोकसेवालगायतका परीक्षा पास गर्नुपर्ने तर राज्यको चौथो अंगमा प्रवेश गर्न भने कुनै तालिम र प्रशिक्षण नभएकोले पत्रकारिताको गुणस्तर खस्किएको गुरुङले तर्क गरे ।

‘एउटा सूचना तल-माथि पर्यो‍ भने देशले कहिलेकाहिँ शिर झुकाउनु पर्ने अप्रिय घटना घट्ने भयो,’ मन्त्री गुरुङले भने, ‘अनि देशको चौंथो अंगले पनि त्यो खालको (लोकसेवाजस्तै) कोर्स पूरा गरेको हुनुपर्छ ।’

आधारभूत दक्षताको तालिम र प्रशिक्षण लिएपछि पत्रकारिता जवाफदेही, मर्यादित बन्ने मन्त्री गुरुङले जिकिर गरे ।

केपी ओली सरकारमै यसअघि सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले पनि पत्रकार बन्न जाँच दिनुपर्ने विषय उठाएका थिए । उनले यससम्बन्धी कानुनी व्यवस्था गरिने बताएका थिए । बाँस्कोटा ७० करोड घुस प्रकरणमा मुछिएर मन्त्रीबाट बाहिरिएपछि गुरुङ उक्त ठाउँमा आएका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =