विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित

काठमाडौं । विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत सोमबार भएको खेलमा जोर्डन विजयी भएको छ । नेपाल जोर्डनसँग ३–० ले पराजित भएको हो।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा खेलको २४ औँ मिनेटमा बाहा फैजल सेइफले पेनाल्टी मार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।

डिबक्स भित्र नेपालका डिफेन्डर रोहित चन्दले मौसा मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।

४९औँ मिनेटमा फैजललेनै फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ६७ औँ मिनेटमा यजान अलअरबले जोर्डनका लागि तेस्रो गोल गरे। एसान हदादको क्रसमा उत्कृष्ट हेड गोल गरेका थिए।

जितसँगै जोर्डन ६ खेलबाट १३ अंक जोड्दै समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिदाँ पराजित नेपाल ७ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?