एकछाकको च्याउले आमाबुवाकाे निधन, दुई छोरीको विचल्ली

  • भक्तबहादुर शाही

कालिकोट । गाउँमा रोजगारी नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमतीसहित परिवारका साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे । कान्छी छोरी सृष्टि जन्मिईन ।

सुत्केरीको भएको आठ दिनमा डम्बरले सुत्केरी श्रीमतीलाई पोषिलो खाने कुरा खुवाउन भनेर जंगलबाट च्याउ ल्याए । च्याउ खाएपछि परिवारका सबै सदस्य बिरामी परे । छिमेकीले उपचार लागि अस्पताल लैजादै गर्दा डम्बर र उनकी श्रीमतीको बाटैमा मृत्यु भयो । सँगै विरामी परेका छोरीहरु मनिषा र सुष्टि बाँच्न सफल भए । आमाको मृत्यु हुँदा कान्छी छोरी जम्मा नौ दिनकी थिइन् ।

डम्बर दम्पतीको मुत्युको खबर आफन्तले आमा लक्ष्मी बादीलाई सुनाए । लक्ष्मी शिशुलाई नेपाल ल्याउन मुग्लान लागिन् । कमाउन गएका छोरा र बुहारीको काजकिरिया गरि दुई नातिनी लिएर गाउँ आइन् लक्ष्मी ।

गाउँमा घर नहुँदा लक्ष्मीले दुधे बालिका सहित चार जना परिवारलाई छरछिमेकी घरमा बसेर पालिन । दुधे बालिकालाई गाउँबाटै भैसीको दुध खुवाएरै पालिन । अहिले मनिषा ६ बर्षकी भइन् भने सृष्टि ११ महिना पुगिन । घरबार विहिन लक्ष्मी आजभोली पाँच सय भाडातिरेर सदरमुकाम नजिकै बस्छिन् । ‘अहिले सम्म घरको भाडा समेत तिरेको छैन,घरभेटीले पैसा मागिरहेका छन् । नातिनीलाई खुवाएको दुधको पैसा तिरेको छैन । कोरोना गर्दा केही दिन सिस्नु र भाँडेको साग पकाएर खाएँ ।’गहँभरि आँशु निकाल्दै पिडा सुनाईन ।

भारतबाट फर्केपछि नातिनीलाई सँगै लिएर गिट्टी कुटेर नातिनी पालेकी थिइन् । ‘कोरोनाले गर्दा सबै काम बन्द छ । गिट्टी कुटन समेत पाएको छैन । नातिनीलाई कसरी पाल्ने हो । पैसा नदिए छरछिमेकीले दुध दिदैन् ।’ उनले भनिन् । सानी नातिनीलाई दुध नहुँदा कति दिन पानी सँगै विस्कुट खुवाएर सुताएको बताउछिन् लक्ष्मी ।

नाबालिका सृष्टि र मनिषाको चार जना काका दुई फुपु छन् । उमेर ६० बर्ष पुगेपनि लक्ष्मीको नागिरकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित छिन् । सृष्टि र मनिषाको आमा बाबुको समेत नागरिकता नहुँदा जन्मदर्ता छैन । ‘नागरिकता बनाईदिएको भए । भत्ताबाटै आएको पैसाले नातिनीलाई दुध खुवाउँथेँ ।’उनले थपिन ।

कोभिड –१९ को दोस्रो चरणको निषेधाज्ञा संक्रमणले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आएकी लक्ष्मीलाई आजभोली चार जनाको परिवार कसरी पाल्ने भन्ने चिन्ता लागेको छ । सृष्टि र मनिषा हजुरआमा लक्ष्मी बादीको सहारामा छन् ।

केही दिन अगाडी सामाजिक सेवा केन्द्र (सोसेक) कालिकोटको बालहेल्प लाईनमा छरछिमेकले समस्या टिपाई दिएपछि गएको शनिवार सामाजिक सेवा केन्द्रबाट १ प्याक चामल,नुन,तेल सहयोग पाएकी छन् । दुधको १० हजार समेत सोसेक तिरिदिएको कालिकोट सोसेककी जिल्ला संयोजक संगिता ओलीले बताईन् ।

हजुर आमाको नागरिकता नहुँदा बालिकाको जन्मदर्ता भएको छैन । स्थानीय सरकारले लक्ष्मीको नागरिकता र बालिकाको जन्मदर्ता गराइदिए केही राहत हुने संगीता बताउछिन् । लक्ष्मीको पनि आफनै घर बस्ने चाहना छ । सुकुम्बासी भएकाले जग्गा जमिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?